विश्वविद्यालय शिक्षकको बढुवाका आधार र वैधतामाथि प्रश्न

Home >> विश्वविद्यालय शिक्षकको बढुवाका आधार र वैधतामाथि प्रश्न

विश्वविद्यालयको विकास क्रमलाई हेर्ने हो भने पश्चिममा इपू ४०० तिर प्लेटोले एकेडेमी स्थापना गर्दा भारतवर्षमा तक्षक्शीला विद्यापीठ स्थापित थियो। तेह्रौ शताब्दीमा अक्सफोर्ड खुल्नु अघि नै नालन्दा विद्यापीठ अन्तर्राष्ट्रियरुपमा स्थापित भइसकेको थियो।

नालन्दाका मूर्धन्य- शान्तरक्षित, कमलशील, अतिशालगायतका आचार्यहरु सर्वजन हितायको मूल्य बोकेर तिब्वतसम्म विद्यापीठ स्थापना गर्न पुगेका थिए। उनीहरुका लागि शिक्षा भनेको मनुष्य जातिको अज्ञानता नाश गर्नु थियो, स्नेह र करुणाको पर्याय थियो।

आचार्यहरु ज्ञानको निर्माण र विस्तार गर्न तथा शिष्यलाई लक्ष्यमा पुग्न सघाउनका साथै राजन्यहरुलाई सल्लाह तथा निर्देशन दिने गर्दथे।

पश्चिमाहरुको विमर्शमा विश्वविद्यालयले मुलुकका लागि आलोचनात्मक चेत भएका उच्च बौद्धिक जनशक्तिको निर्माण गर्नुका साथै राज्यका विभिन्न निकायका नीति तथा कार्यक्रमको प्राज्ञिक रुपमा विश्लेषण र मूल्यांकन गर्दै सुझाव प्रदान गर्दछ भने ज्ञान र विज्ञानका क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा पनि योगदान गर्दछ।

एकातिर राज्यको प्राज्ञिक प्रतिपक्ष, र अर्कातिर विश्व सापेक्ष हुने भएकोले विश्वविद्यालयलाई स्वायत्त हुनुपर्छ। शिक्षकहरुले आफ्नो संस्थाको नीति तथा कार्यक्रम बनाउने पदाधिकारी छान्ने, ज्ञान निर्माण गरी त्यसको आधारमा पाठ्यक्रम बनाउने र पढाउने गरेर स्वायत्ताको अभ्यास गर्छन्।

तर नेपालका विश्वविद्यालयहरुले विमर्श अनुशरण प्राचिनकालमा नै स्थापित मौलिक मूल्य अनुसार भूमिका खेल्न सकेको देखिन्न। यसको एक मुख्य कारण शिक्षक बढुवामा त्रुटी हो।

विद्यार्थी र शिक्षकसंख्या तुलना गर्दा ८० प्रतिशतभन्दा बढी स्थान लिएको र सबैको अग्रज, त्रिभुवन विश्वविद्यालयमा सह-प्राध्यापक र प्राध्यापक पदमा बढुवाको लागि गरिएको अंक विभाजन (अनुभव, कृति प्रकाशन, शैक्षिक योग्यता, कार्यसम्पादन, र अन्तरवार्तामा क्रमशः ४०, २१, २५, ४ र १० प्रतिशत) ले दुई वटा अहं प्रश्न उठाउँछ- के यो बढुवा प्रणालीले शिक्षकको पेशागत क्षमता र प्रतिवद्धताको विकास गर्न सक्छ?

के यो अंक विभाजनर मापन विधि प्राध्यापकलाई आफ्नो कर्तव्य निर्वहन गर्न र विश्वविद्यालयलाई आफ्नो स्थापनाको औचित्य स्थापित गर्नलाई सबैभन्दा उपयुक्त साधन हो?